सात सय वर्ष पुरानो पौभा

No votes yet

700 Years Old Pauva Nepali Ard१३ औं शताब्दीमा नेपाली कलाकार अरनिको ८० जना कालिगड सहित तिब्बत गए । तिब्बत पुगेको दोस्रो वर्षमै उनले त्यहाँ सुवर्ण चैत्य निर्माण सकाए, यसपछि युआन वंशका संस्थापक सम्राट कुब्लाई खानको दरबारमा पुगे । कलाकारिताबाट प्रभावित भएर उनलाई तिब्बतकै साक्या गुम्बाका संघनायक पाहसपाले खानको दरबार लगेका थिए । खानले अरनिकोको कला परीक्षणका लागि बिगि्रराखेको ढलोटको एउटा पुरानो मूर्ति मर्मत गर्न लगाए । अरनिकोको कौशलबाट उनी यसरी प्रभावित भए कि भर्खरै बनाउँदै गरेको नयाँ राजधानी तातु (बेइजिङ) मा उनलाई विशाल श्वेत चैत्य बनाउन आदेश दिए । त्यो समय त्यहाँ चैत्य मात्रै बनेन, नेपाली कलाहस्तीले मूर्तिहरू र पौभाहरू पनि बनाए । पछि त्यही थलोमा अरनिको मूर्तिसमेत ठडयाइयो ।

तिनै अरनिकोको पालामा कोरेका सात सय वर्ष पुराना पौभा चित्रहरूसमेत समेटेर सहरमा पुराना कलाकृतिहरूको प्रदर्शनी हुँदै छ । बेइजिङस्थित श्वेत चैत्यमा रहेका ती पौभाहरूलाई भने तस्बिरमार्फत प्रदर्शनीमा ल्याउन लागिएको हो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले । अरनिको स्मृति दिवस अवसर पारेर प्रतिष्ठानको परम्प्ारागत तथा शिल्पकला विभागले यस्तो मिसो जुराउन लागेको हो । अनन्त मल्लको शासनकाल अर्थात् सन् १२६० मा अरनिको चीन गएका थिए । तिब्बत हुँदै चीनका विभिन्न थलो पुगेर नेपाली शैलीको प्यागोडालाई चिनाएका अरनिको सम्बन्धी दुलर्भ तस्बिरहरू पनि प्रदर्शनीमा ल्याउन लागिएको विभागका प्रमुख तथा प्रज्ञा निमा घ्याम्जो वल लामाले जनाए ।

सरकारी तहको उच्च सम्मान साथ चीनमा नेपाली कला पहिचानलाई फैलाएका अरनिकोको सन् १३०६ मा ६२ वर्षको उमेरमा निधन भएको थियो । पटक पटक चीनमा पुगेर संस्कृतिविद् सत्यमोहन जोशीले अरनिकोमाथि निकै अध्ययन अनुसन्धान गरेका थिए । अध्ययनबाट फर्केपछि उनले उद्योगी विजय गजानन्द वैद्यको सहयोगबाट 'कलाकार अरनिको' नामक तस्बिरसहितको अनुसन्धानात्मक कृति नै छापेका थिए ।

२७ वर्षअघि छापिएको र हाल बजार दुर्लभ रहेका तिनै कृतिमा समेटिएका तस्बिरहरूसमेत प्रदर्शनीमा हुने बताइएको छ । 'अरनिको दुई वर्ष तिब्बतमा रहेर गरेका कला कार्यदेखि बेइजिङको श्वेत चैत्यभित्र रहेका कलाकृति र तिनसँग सम्बन्धित अरनिकोका तस्बिरहरू पनि प्रदर्शनीमा हुनेछन्,' प्राज्ञ निमाले भने, 'कलामार्फत छिमेकमा नेपालको पहिचान दिलाउने यी कलाकारको सम्झनामा यसपटक प्रदर्शनी समर्पित गर्न लागेका हौं ।'

यसबाहेक प्रदर्शनीमा नेपालभित्रकै पुराना थाङ्का, पौभाहरू पनि हुने बताइएको छ । बुद्ध दर्शन प्रचारका क्रममा जन्मेको थाङ्का-पौभा नेपालका पुराना कला सम्पदा मानिन्छन् । संस्कृतिविद् जोशीका कृति 'कलाकार अरनिको' अनुसार इसाको पहिलो शताब्दीदेखि नै चीनको सान्सीबाट लुम्बिनीमा बौद्ध भिक्षुहरू आवातजावातको क्रम सुरु भएको थियो । पाँचौं शताब्दीमा हवेन साङ हुँदै तेह्रौँ शताब्दीमा अरनिकोको समयमा आइपुग्दा बौद्ध ज्ञानसँगै कलाकृति, शैली र शिल्पको आदानप्रदान पनि प्रगाढ बन्यो । 'चीन बौद्धविहार र स्तुपाहरूमा अझै थुप्रै हस्तलिखित नेपाली कला सम्पदाहरू छन्,' जोशीले कृतिमा लेखेका छन्, 'तिनको खोजी अनुसन्धान कार्य बाँकी नै छ ।' यही कार्यलाई प्रोत्साहन गर्न र नेपाल-चीनबीचको सांस्कृतिक सम्बन्धको ऐतिहासिक पाटोसमेत उजागर गर्न प्रदर्शनीमा अरनिकोको सन्दर्भ जोडेको निमाले बताए । यी कलाकृतिहरूलाई नक्सालस्थित प्रतिष्ठानको ग्यालरीमा सार्वजनिक प्रदर्शनीमा राखिने उनले जनाए ।

(कान्तिपुर दैनिकका सम्वददाताद्वारा लेखिएर सोही प्रकाशनमा प्रथमपटक प्रकाशित)

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.