जे छ नाममै छ

Your rating: None Average: 5 (1 vote)

- नगेन्द्रराज रेग्मी
विश्वका असङ्ख्य अनुहारहरूका बीचमा आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । कतिपय व्यक्तिहरूले आफ्नो वास्तविक नामलाई लुकाएर, गोप्य राखेर उपनाम, छद्मनाम, लामा र छोटा नामहरू प्रयोग गर्ने गर्दछन् । राजनीति र साहित्यिक क्षेत्रमा यस्ता उपनामहरू लेख्ने प्रचलन अत्यधिक बढिरहेको देखिन्छ ।

के हामी गोविन्दप्रसाद प्रधानलाई चिन्दछौँ ? विष्णुदेवी वाइबालाई नि ? अति तिलकप्रसाद शर्मा खनाललाई ? उत्तर 'चिन्दिनँ' भन्ने नै आउँछ । चेतमानसिंह भण्डारी, महेश्वर पौडेल वा मेघराज नेपाललाई नाम, नागरिकताको नाम अथवा वास्तविक नाम हामीलाई थाहा हुँदैन, तर तिनै व्यक्तिको उपनाम भन्नासाथ हामी उनीहरूलाई सजिलै चिन्दछौँ । अनि भन्छौँ कृष्णचन्द्रसिंह प्रधान, पारिजात, भाउपन्थी, मनुब्राजाकी, इश्माली, मञ्जुल आदि आदि भनेर ।

युवा अवस्थामा सबैलाई केही न केही गर्ने रहर र लहड चलिरहेको हुन्छ । यही समयमा प्रायः मानिसले आफ्नो नामको अगाडि वा पछाडि उपनाम, छद्मनामहरू राखेका हुन्छन् । ती उपनामहरूको आयु आफ्नो सिर्जनाशक्ति र कर्ममा अडेको हुन्छ । त्यसैले राखिएका सम्पूर्ण उपनामहरू दीर्घजीवी मात्र पाउँछन् जतिखेर आफ्नो कार्यप्रति सचेत हुँदै उनीहरू निरन्तर अग्रसर भएर सिर्जनशीलता देखाउन सफल हुन्छन् । शायद त्यसैले कतिपय महत्त्वपूर्ण व्यक्तिको वास्तविक नाम हामीलाई थाहा छैन तर उसको उपनामबाट भने हामी सबैले चिन्न सक्छौँ ।

छद्मनाम

'गोर्खाली' तथा 'सुन्दरी' पत्रिकामा पनि थुप्रै लेखक कविहरूले आफ्नो वास्तविक नाम, थर लुकाएर उपनाम र छद्मनामहरू प्रयोग गर्ने गरिएको देखिन्छ । चन्द्रशम्शेरको शासनकालमा उनको कोपभाजनमा पर्नुपर्ला भन्ने डरले त्यस समयका स्रष्टाहरूले अत्यधिक रूपमा यस्ता काल्पनिक नामहरू प्रयोग गर्नुपरेको थियो । १९६१ अगाडि जन्मेको ठानिएका कतिपय यस्ता अज्ञात रचयिता, छद्मनामी स्रष्टा, स्फुट श्लोकका कवि, सुन्दरी, गोखालीका समस्यापूर्तिकार कविहरूमध्ये धेरैले उपनाम, छद्मनामको प्रयोग गरेर देखिन्छ । जसमा अनाम विश्वकर्माजा, एक, एक ब्राहृमण, भादगाउँ, एक विद्यार्थी, एक देश सेवक, केदार, चालिसे, दास, देवी, नाथ कोइराला, पूर्णवन्धु, विरही, रसिक, रामभक्त, शादी, सानिमा, सरल, सहनशील, ख्याली आदि आदि देखिन्छन् । यिनीहरूलाई अनुमानको भरमा यो व्यक्तिले यो छद्मनाममा लेखेको होला मात्र भन्न सकिन्छ तर ठोकुवा नै गर्न भने सकिएको छैन । त्यस्तै सुन्दरीमा प्रकाशित

'मयल' 'मोदिनी' नामका समस्यापूर्तिकार, शारदा र उद्योग पत्रिकामा कविताहरू छपाउने 'कुमारी बुनु' गोर्खालीमा प्रकाशित 'धन', चेत र एक विद्यार्थीका छद्मनामी समस्यापूर्तिकारका बारेमा पनि केही ज्ञात हुनसक्दैन । यतिमात्र होइन बज्र, वासु, मनोरमा, माधव, मातृभक्त आदि छद्मनामी स्रष्टाहरूबारे समेत जानकारी छैन । यिनीहरूमध्ये धेरैले समस्यापूर्तिमा कविताहरू प्रकाशन गर्ने गरेका थिए ।

यही समयमा लेख्ने प्रसिद्ध साहित्यिक व्यक्तित्व लेखनाथ पौडेल 'मधुकर' का उपनामले कविताहरू लेख्दथे भने 'भूतनाथ' भनेर शम्भुप्रसाद ढुङ्गेलले पनि कविताहरू लेख्ने गरेका थिए । छद्मनाम, उपनाम लेखेर वास्तविक नाम थाहा नपाउनु एउटा कुरा हो तर कुनै पनि प्रकारको नाम नै नभेटिनु, नछापिनु अर्को जटिल र रहस्यपूर्ण कुरा हो । आदिकालमा अज्ञात लेखकको 'रामशाहको जीवनी' उपलब्ध भएको छ । यसको लेखक को हो ? केही थाहा छैन । त्यस्तै वीरगाथाकालको अर्को प्रसिद्ध कृति -"पृथ्वीनारायण शाहको जीवनी" का लेखकको बारेमा पनि हामीलाई केही थाहा छैन । नेपाली साहित्यको इतिहासबारे अनुसन्धान गर्नेहरूलाई यसले रचनाकार र रचनाकाल पत्ता लगाउन हाँक दिएको छ ।

हाम्रो देशको पञ्चायती व्यवस्थाकालमा पनि जनताले सधैँ त्राहीमाम भएर बस्नुपर्‍यो । अतः यस परिस्थितिमा पनि कतिपय व्यक्तिहरूले उपनाम र छद्मनामबाट लेख्नुपरेको थियो । वरिष्ठ कवि भूपि शेरचन 'सर्वहारा' भए । विष्णुदेवी वाइवा 'पारिजात' बनिन् । प्रदिप नेपाल सञ्जय थापा बने, मोहन वैद्यले चैतन्य लेखे, रामेश्वर श्रेष्ठ रामेश, नारायणभक्त श्रेष्ठ रायन, मेघराज नेपाल मञ्जुल आदि आदि बने । यस्ता थुप्रै उदाहरणहरू हामीकहाँ नपाइने होइनन् ।

उपनाम

कतिपय साहित्यिक व्यक्तिहरूले उपनामको प्रयोग गरे पनि उसको वास्तविक परिचय खुल्न सक्छ । जस्तो गोविन्दबहादुर मल्ल 'गोठाले', गोविन्द गिरी 'पे्ररणा', गोपाल पाण्डे 'असिम', विवश, 'अभागी', 'निरव', 'इच्छुक', 'रोदन', 'सम्भव', 'यात्री', मार्सेली, 'मातृदास', खेम कोइराला 'वन्धु', इन्द्रकुमार श्रेष्ठ 'सरित', बमबहादुर थापा 'जिताली', धिरज गिरी 'कल्पित', दुर्गा बराल 'वात्सायन', देवेन्द्र अर्याल 'आँशु', नवराज राई वर्तमान, निलम कार्की निहारिका, भूपति ढकाल 'कमल', मदन राई 'लामाखुले' सविता श्रेष्ठ 'बेहोसी', घनश्याम न्यौपाने 'परिश्रमी' आदि आदि ।

यसो त कतिपय उपनामले त्यो व्यक्तिको कुनै परिचय खुल्दैन । जस्तो सरूभक्तको वास्तविक नाम के हो ? त्यस्तै धुस्वाँ सायमी, चित्तधर हृदय, मञ्जु काँचुली, लव गाउँले, आउमासी, गण्डकी पुत्र, केवलपुरे किसान, सरूविन्द, साधना प्रतिक्षा, राजेन्द्र चोथाले, विष्णु प्रभात, सौरभ, चट्याङ मास्टर, राजव, श्यामल, पिटर जे.कार्थक, प्रकट पगेनी शिव, नरदेव, कृष्ण बाउसे, गणेश रसिक, हिरण्य भोजपुरे, गीता केशरी, चित्र सिकारू, चुडामणि बन्धु, प्रयागराज वाशिष्ट, छत्र क्षितिज, रमेश तुफान, विक्रमश्री, आहुति, सीमा आभाष, पूर्ण इन्फन्दा, मुक्तिबन्धु, कपिल वन्धु, पूर्णविराम, अल्पविराम, व्याकुल पाठक, राजेन्द्र समिर, शरद चिराग, गोविन्द वर्तमान, निर्माही व्यास आदि । यी त केही उदाहरणहरू मात्र हुन् ।

अग्निशिखा-सुकदेव नेपाल, अतीत मुखिया - ईश्वरकिरण सुनुवार, अनमोलमणि -अनमोलमणि पौडेल, गोवर्द्धन पूजा - राजेन्द्र श्रेष्ठ, अगिव वनेपाली - त्रैलोक्यमान श्रेष्ठ, अमर त्यागी - अमरबहादुर श्रेष्ठ, अमृत निर्मोही - अमृतलाल श्रेष्ठ, कणाद मिश्र, कन्हैया नासनानी - कृष्णगोपाल श्रेष्ठ, काजी रोशनकाजी राजभण्डारी, किशोर पहाडी - किशोेरमान पहाडी, कुमार दिङ्लाली-नन्दीशप्रसाद अधिकारी, प्रधान, कृष्ण धरावासी-कृष्णप्रसाद भट्टराई, पूर्णप्रसाद ब्राहृमण-पूर्णप्रसाद दवाडी, गणेश विषम-गणेशप्रसाद मजगैया, वेदमणि-गोविन्दप्रसाद घिमिरे, चक्रपाणि-मदनमणि दीक्षित, क.दी.-कमलमणि दीक्षित, छिन्नलता-रमोलादेवी साह, धर्मेन्द्र विन्हल-धर्मेन्द्र झा, धीरेन्द्र प्रेमषिर्-धिरेन्द्र झा, डी.आर. आनन्द-धनराज गिरी, अमोदधौभ्य-निर्मलमणि अधिकारी, तुलसी दिवश-तुलसीमान जोशी, नेत्र एटम-नेत्रमणि सुवेदी, विष्णु आभूषण-विष्णुकुमार राई, शीतबिन्दू, शिशिर, स्मृति-प्रदिप ज्ञवाली, प्रेम छोटा-प्रेमप्रसाद श्रेष्ठ, महेन्द्र मधुकर-प्रेमप्रकाश मल्ल, बूँद राना-लोकबहादुर राना, बेदमणि-गोविन्दप्रसाद घिमिरे, भवानी भिक्षु-भवानीप्रसाद गुप्ता, भोरारे मार्सेली, भीम विराग-भीमबहादुर महर्जन, भूपिन व्याकुल-भूपेन्द्र खड्का, मनुब्राजाकी-चेतमानसिंह भण्डारी, दुखुन-मोहनसिंह राई, चैतन्य-मोहन वैद्य, रमेश विकल-रामेश्वर शर्मा चालिसे, रामप्रउ पोखरेल-रामजीप्रसाद उपाध्याय पोखरेल, डा. राममान तृषित-राममान श्रेष्ठ, राजव-जनार्दन पुडासैनी, औतारी काका-रामकुमार पाँडे, राजीव-रामबाबु सुवेदी, लाटो साथी-विष्णुराज आत्रेय, वनमाली निराकार-वनमालीराज शर्मा-वाङ्देल चेली-सुमित्रा राई, वैरागी काँइला-तिलविक्रम नेम्वाङ, विवश पोखरेल-मनोहर पोखरेल, विप्लव ढकाल-बाबुराम ढकाल, व्याकुल माइला-प्रदिपकुमार राई, वियोगी बुढाथोकी-सीताराम बुढाथोकी, युवराज नयाँघरे-युवराज सुवेदी, श्रेष्ठप्रिया पत्थर-हरिप्रिया श्रेष्ठ, सुकुम शर्मा-गोविन्दप्रसाद शर्मा, सुरेश हाँचेकाली-ढुण्डिराज निरौला, सृजन लम्साल-पूर्णचन्द्र लम्साल, शैलेन्द्र शाकार-शंकरप्रसाद श्रेष्ठ, हंसपुरे सुवेदी-तीर्थराज सुवेदी, हरिमञ्जुश्री-हरि अधिकारी, प्रवासी-हरिभक्त कटुवाल, विमल निभा-विमलकृष्ण श्रेष्ठ, विष्णु नविन-विष्णुबहादुर बुढाथोकी, गगन विरही-गगनलाल श्रेष्ठ, ध.च.गोतामे-धनुषचन्द्र गौतम, दुवसु क्षेत्री-दुर्गाबहादुर सुवेदी, अश्रुसिन्धुलीय-हरिगोविन्द अधिकारी, जीवन सागर-जीवन अधिकारी, हास्यव्यङ्ग्यमा कालिदास, निबन्धमा स्वतन्त्रराज शर्मा, सांस्कृतिक लेखरचनामा चन्द्रदेव नेपाली भनेर लेख्ने हरिगोविन्द लुइँटेल हुन् भने भूतको भिनाजु, तनेवासे, म उपनामबाट लेख्ने वासुदेव शर्मा लुइँटेल हुन् । जासुसी उपन्यासमा दीर्घवाहु, फाइफुट्टीराज, विश्वामित्र, श्रीसमानान्तर, वमभोला, गिद्धचक्षु, देवराजजस्ता नक्कली नामले थुप्रै हास्यव्यङ्ग्यहरू सिर्जना स्रष्टा श्रीधर खनाल हुन् । नाम राखिनुमा पनि विभिन्न होड र प्रसङ्गले काम गरिरहेको हुन्छ । भारतमा मोटरमा यात्रा गर्दागर्दै जन्मिएकी बच्चीको नाम 'जीपकुमारी' र हवाइजहाजमा जन्मेको बच्चाको नाम 'हावा-हवाई' राखिएको थियो । यहाँसम्मकी ठूलो मानिसको जस्ता नाम राख्दा आफ्नो व्यक्तित्वमा पनि प्रभाव पार्ने मनोविज्ञानले एकताका 'रेगन' र 'गोर्वाच्योभ' जस्ता नामहरू पनि राख्ने गरिएको थियो । गत खाडी युद्धताका तत्कालीन इराकी राष्ट्रपतिप्रति श्रद्धाभाव स्वरूप मुस्लिम परिवारले आफ्ना बच्चाको नाम 'सद्दाम' राखेको चर्चा पनि उत्तिकै स्मरणीय छ । नेपालमै पनि वी.पी. स्मृति दिवसका दिनमा जन्मिएको बच्चाको नाम 'विश्वेश्वर' र पुष्पलाल जयन्तीका दिन जन्मिएको बच्चाको नाम 'पुष्पलाल' राखिएका थुप्रै उदाहरणहरू पाइन्छन् ।

उपनाम राख्नुको कारण

नेपाली साहित्यिका जगत्मा पनि यस्ता उपनामहरू राख्नमा विभिन्न कारणहरू रहेको कुरा स्रष्टा स्वयं बताउँछन् । 'जेलमा बस्तै 'व्यथित' लेख्न थालेको हुँ । जेलको नियास्रोपन, कालकोठरीजस्तो ठाउँ, कोही मान्छे भेट्न नपाउने, त्यस्तै अत्यासलाग्दो स्थिति भोग्नु परेकाले नै 'व्यथित' उपनाम राखेको हुँ । वरिष्ठ कवि केदारमान व्यथित उपनाम राख्नाको कारण बताउँदै भन्नुहुन्छ । आफ्नो पैत्रिक गाउँ 'पिंडा' का नामबाट केशवराज लामिछानेले लामिछानेलाई हटाई 'पिंडाली' उपनाम धारण गरेका थिए । खोटाङमा जन्मिएका खेमरञ्जन भट्टराई 'लामिडाँडे' लमजुङको जिता गाविसमा जन्मेका कवि बमबहादुर थापाले पनि आफ्नो जन्मभूमिलाई संस्मरण गर्दै 'जिताली' उपनाम प्रयोग गरे । 'साहित्यकार हरि अधिकारीसँग सदैव नाम जुद्धा जुद्धा हैरान भएर म आफ्नो नामको पछाडी 'मञ्जुश्री' थपेर लेख्न थालेको हुँ । फागुन पूणिर्माको दिन जन्मेकाले शायद उनले 'शशी' उपनाम राख्ने भन्दै डा. कुमारबहादुर जोशी वासुदेव वैद्यले शशी उपनाम धारण गर्नुपरेको कारण बताउनुहुन्छ । यस्ता अनगिन्ती घटना-प्रसङ्गहरू भेटिन्छन् साहित्यकारहरूका ।

लामा नाम ः

आफूप्रति आकृष्ट पार्न व्यक्तिहरूले विभिन्न लामा र अनौठा नामहरू राख्दै गिनिज बुकमा स्थापित हुने भीड पनि अहिले उत्तिकै बढिरहेको छ । भारतमा एक व्यक्तिको नाम 'महामहोपाध्याय परमहंश परिब्रजाकाचार्य स्वयंमासिकेदारेश्वरानन्द सरस्वती' लाई सबैभन्दा लामो नाम घोषणा गरिएको थियो । तर वृटेनको एक छात्रले सजिलै यो रेकर्डलाई तोडिदिएका छन् । उनको नाम त झन् यति लामो थियो कि - 'ह्यूग अलेक्जेण्डर मारिस जीन साल राल्फ चाल्स गिलवर्ट मटोर मार्विस माइल्स मैरियन मायोजान चाल्र्स नैन्स गार्डन वेनिट एडम क्रिष्टोफर कोलम्बस एजाहग्रीन एवरसिल बे्रडले किनकेड रवर्ट जैफरसन बे्रकन रिग स्टेनर्ड ।' यति मात्र होइन आफ्नो समयका सर्वाधिक सिर्जनशील एवम् महान् चित्रकार पाठलो रूइज पिकासोको नाम पनि अत्यन्त लामो छ । स्पेनमा जन्मिएका चित्रकार पिकासोको पूरा नाम - 'पाब्लो डाइगो जोस प|mान्सिस्का डी पाउला नेपोमोसिनो क्रिस्पिन क्रिस्पोनो डिला सन्टइजिमा टि्रनिडाज रूइजयो पिकासो' थियो । यो नाममा सग्ला ४३ र ६ वटा आधा गरी जम्मा ४९ अक्षर छन् । त्यसो त मलेसियाका एक भूतपूर्व सम्राटको नाम पनि कम थिएन । उनको नाम -'डुली याङ्कमा मुलिकासेरी फडुगा बागेन्डा सुल्तान हाजी अहमद शाह इब्जी अल माहुर्स सुल्तान अबु्रवक' थियो । नेपालको इतिहासमा पनि ४३ अक्षरको एक लामो नाम स्थापित हुन आइसकेको छ । उनको नाम हो -'बाबुसुपि मोहम्मतवसस्तरियो हासिमोती बुत्रोश-बुत्रोश वाङ्चु जिग्मे सिग्मे वाङ्चुक जल्दवीर' राखेका छन् । नुवाकोट जिल्लाको समुद्रटार गाविसका धर्मेन्द्र डङ्गोलले आˆना जेठा छोराको नाम आफूलाई राम्रो लागेका शब्दहरू र विश्वका चर्चित व्यक्तिहरूको नाम मिलाएर राखेका हुन् । उनले आफ्नो कान्छो छोराको नामसमेत फरक खालको राखेका छन् । उनको नाम चाहिँ -'जफन्त सिंह जफत्तलाल नटवरसिंह नटवरमान' हो, यो २१ अक्षरको छ ।

लामो नामको चर्चा गर्दा थाइलैण्डको राजधानी 'बैंकक' आउँछ । यसको पुरानो नाम धेरै लामो थियो । शायद यो विश्वकै सबैभन्दा लामो नाम भएको राजधानी हो । यसको पुरानो नाम यसप्रकारको थियो 'क्रुङ्गथेप महानखोन अमोन रत्नाकोसिन महिन्थरा आयुत्था महादिलो कफोथ नोप्परान रत्चाथानी वुरिरोम उदोम रत्चानिवेत महासथान अमोन पिमान आवातान सथित सक्काथात्थिया वित्सानुकाम प्रसिन ।' यो धेरै लामो नाम भएकोले यसलाई छोट्याएर पछि बंैकक मात्र भनिन थालियो । बैंकको अर्थ 'देवदूतहरूको सहर' हो भनिन्छ ।

नाम जुधेर अप्ठ्यारो

नामकै कुरा गर्दा विश्वमा नाम जुधेर धेरै व्यक्तिहरूको पहिचानमा अप्ठ्याराहरू परिरहहेको देखिन्छ । पौराणिक युगकै कुरा गर्ने हो भने पनि नाम जुधेका थुप्रै उदाहरणहरू पाइन्छन् । द्रोणाचार्यका अशवत्थामा नाम गरेका छोरा थिए भने एक हात्तीको नाम अश्वत्थामा नै थियो । हात्ती मारिएको कुरालाई अश्वत्थामा मारिए भनी मानसिक रूपमा युद्धलाई परास्त गर्ने यस्तो कूटनीति रचिएको कुरा महाभारतमा हामी पढ्न पाउँछौँ । नाम जुद्धा सही व्यक्तिलाई चिनाउन एकातिर गाह्रो हुन्छ भने अर्कोतिर त्यही नामको अर्को व्यक्तिलाई अप्ठ्यारो परिरहेको पनि हुन्छ । हिटलर कुख्यात तानाशाह थिए भने हेटलर एक ठूला वैज्ञानिक । हेनरी किसिन्जर एक प्रख्यात कुटनीतिज्ञ हुन् भने हेनरी क्लिंगर एक सस्ता र नगन्य उपन्यासकार । तेन्जिङ नोर्गे शेर्पा विश्वप्रसिद्ध प्रथम सगरमाथा आरोही हुन् तर अन्य यस्तै आरोहणदलको टिममा तेन्जिङ शेर्पा नै नाम गरेका थुप्रै भरियाहरू थिए । जर्ज वासिङ्गटन इतिहास प्रसिद्ध व्यक्तित्व थिए भने अमेरिकाको धेरै अघिको सिनेटमा जर्ज वासिङ्गटन नै नाम गरेका दसजना भन्दा वटी सिनेटरहरू थिए ।

नामको महत्त्व सर्वोपरी हुँदाहुँदै पनि नामभन्दा कामलाई नै विशेष महत्त्व दिनुपर्छ । नाम, उपनाम, छद्मनाम, लामा नाम जतिसुकै सुन्दर किन नहोस्, काममा इमान्दारिता छैन भने त्यो सुन्दर नामको अवमूल्यन मात्र हुन्छ । यसर्थ हामी आफ्नो नामप्रति उदासिन नभई कामप्रति सचेत, स्वच्छ र इमान्दार हुन अघि बढांै । हाम्रो आफ्नो नामको सुवास चारैतिर फैलन्छ, यसमा कुनै शङ्का छैन ।

(Source: Gorkhapatra)

Segments: 

Comments

Recent Comments

About Online Sahitya

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.