डोरबहादुर विष्टको उपन्यास सोताला

बिहीबारको साँझ ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति हु जिन्ताओको स्वागतमा आयोजित राजकीय रात्रिभोजमा रमिरहेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले सडकमा गुञ्जिरहेको विरोधको आवाज सायदै सुने। किनकि यो बेला उनी अमेरिका चीन व्यापार कसरी बढाउने भन्नेबारे मग्न थिए। चिनियाँ मुद्रा युआनको मूल्य बढाउन अनुरोध गरिरहेका थिए। परमाणु हतियारमा केही मिनेट कुरा गरेर र चीनमाथि उत्तरकोरियालाई तह लगाउन ओबामाको आग्रह थियो।

ठिक ह्वाइट हाउसबाहिर भने केही विधायकको समूह राजनीतिक आस्थाका आधारमा चीनले आफ्ना विरोधीलाई दमन गरेको, तिब्बती जनतालाई हक खोसेको लगायतका मुद्दामा राष्ट्रपति हुलाई दबाब दिन चिच्याइरहेका थिए। त्यसो त चीनको दबाबका बाबजुद गएको बर्ष तिब्बति धार्मिक नेता चौधौं दलाई लामालाई यिनै ओबामाले भेटेका हुन्। तर, जब मुखामुख कुराकानीको मौका मिल्छ, अमेरिकाको तिब्बत कार्ड मिति सकिए झै बन्छ। उदाहरण, यसपटकको हु ओबामा वार्तामा स्वायत्त तिब्बतको कुरा अमेरिकाको सूचीमै थिएन।

अमेरिका त धेरै टाढाका कुरा, नेपालको उत्तरी सीमासँग जोडिएको यो त्यही तिब्बत हो जसलाई हामीले पनि बिर्सिरहेका छौ। नेपालमा रहेका तिब्बति शरणार्थी र उनीहरूले हरेक बर्षको मार्च १० तारिखका दिन विरोध प्रदर्शन गर्ने कुरा बाहेक यो पुस्ताले नेपाल र तिब्बतको साइनोबारे खासै पत्तो पाएको छैन।

मानवशास्त्री डोरबहादुर विष्टको उपन्यास सोतालाले यही बिर्सिएका र कतिपय अवस्थामा थाहै नभएका ऐतिहासिक तथ्यलाई हाम्रासामु राखेको छ। सन् १९७२ ताका तिब्बतको महावाणिज्यदूत भएर ल्हासा पुगेका विष्टको कृति पढेपछि थाहा हुन्छ, झन्डै झन्डै मानसपटलबाट हराइसकेका कति कुराका पृष्ठभूमि। हाम्रा महाकवि लमीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यमा सुनका थैला लिन किन भोट नै किन जान्छु भनेका रहेछन् भन्ने कुरा। ल्हासामा सुन छ मेरो कान बुच्चै, ल्हासा जानु कुतीको बाटो, जस्ता अद्यापि प्रचलनमा रहेको उखानका कथा र त्यसभित्र गुजुल्टिएका भावनाहरू।

पत्याउन गाह्रो पर्छ कुनैदिन यस्तो पनि थियो जब नेपाल सुनदेखि नूनसम्मका लागि त्यो अनकन्टार भूमिको सहारा पर्नुपर्दथ्यो। अहिले सुन समुद्रपारबाट आउँछ। भोटे नूनको साटो प्याकेटमा पाइने नून पनि समुद्रबाटै नेपाल पस्छ।

विष्टको सोताला उपन्यास भन्छ, सुन र नूनको सम्बन्धबाहेक भोट र नेपालबीच रगतको साइनो पनि थियो। जहाँ सानुमानले आफ्नी रानीसाहेबसँग घर बसाउँछ र आफ्नो पुस्ता विस्तार गर्छ। काठमाडौं जैसीदेवलको पछिल्लो चोकको तुलाधरपरिवारका एक्ला छोरा सानुमान चोकमा रहेको चैत्यको खाली ठाउँमा घ्वाँय कासा खेलिरहने लानीथँकुको सौन्दर्यबाट मोहित हुन्छ र भित्रभित्रै उसैलाई मनपराउँछ। १४, १५ बर्षको उसको मनसाय आमाले चाल पाउँछिन् र लमीलाई कुरा चलाउन अह्राउँछिन्। तर, लमीले लानीथँकुको विहे सानुमान भन्दा हुनेखानेसँग मिलाउँछ। मनपराएकीलाई आफ्नो बनाउन नपाएपछि सानुमान त दुःखी हुने भयो नै। तर, उनीभन्दा बढी चोट त आमालाई पर्यो। जोरिपारीका अघि आफू गरिब हुँदा नाक काटिएकाले उनी रातभर बर्बराउन थालिन्। मेरो छोरा पनि सक्छ ल्हासा जान, त्यो साहुँ अष्टधरको भन्दा बढी धन कमाएर ल्याउन सक्छ, आमाले यसो भनेकै दिनदेखि ल्हासा सानुमानको पनि सपना बन्छ।
त्यसपछि सुरु हुन्छ, सानुमानको ल्हासा यात्रा। बार, गते, तिथि र महिनामात्र होइन, आज र भोलीसमेत उस्तै लाग्ने लामो यात्रा। तातोपानी हुँदै कुतीको बाटो उकालो लाग्दा सानुमानले अनुभूत गरेको विकटतासँगैको प्राकृतिक सौन्दर्यसँगको संसर्गले प्रत्येक दिन ऊ स्वयं पनि पखाँलिदै माझदै, सग्लिदै, निश्चल, कामल र भावुक हुँदै गइरहेको थियो।

ल्हासा पुगेको सानुमान संसारकै छानो त्यसमाथि पनि सुनको छानो सहर देखेर लोभिनसम्म लोभिन्छ। साँखुले साँहुकी भोटिनी स्वास्नीसँग एकपटक चुग ला खा194ङमन्दिर दर्शन गर्न गएको उसले त्यहाँ झाम्पा रानीसाहेबलाई देखेपछि लाँनीथकु, र बाटामा देखेका सारा सुन्दरीहरू उसलाई फिक्का लाग्छन्। गुरु दत्तले सन् सत्तरीको दशकमा निमार्ण गरेको साहेब, बीबी और गुलाममा छोटी बहुको एक झल्कोबाट नायक झै घाइते बन्छन सानुमान। समयसँगै अनुभवले सम्पन्न सानुमान झम्पा रानीसाहेब, धिमे रिम्पोछे र आफ्नो भाग्यको बलले अति नै कम समयमा भाकोरको सम्पन्न व्यापारी बन्छ। हेर्दाहेर्दै सामान लिने कलकत्तासम्म पुग्ने हैसियत बन्छ।

एकदिन आफ्नी कल्पनाकी देवी रानीसाहेबलाई आफ्नै अंगालोमा बाध्न पाएपछि सानुमान पूर्ण बन्छ। तर, त्यसैबेलादेखि उपन्यासमा बहस सुरु हुन्छ।

गरिबीमा सपना फुलाउन एउटा व्यक्तिले गर्ने परिश्रम, सम्झौताका अतिरिक्त उपन्यासमा रहेको अर्को पाटो विद्रोहको हो। अन्तरजातीय र अन्तरदेशीय विवाहबाट जन्मेका छोराछोरीको धार्मिक, सामाजिक र कानूनी हैसियतको प्रश्नले सानुमानसमेत निरीह बन्छ। नेपाली बाबु र भोटिनी आमाले जन्माएको छोरालाई खच्चर भनिँदा सानुमानको कलकत्तामा स्नातक गरेको छोरोले आफूलाई कतै पनि सहमत गराउने ठाउँ पाउँदैन। नेपाली श्रीमान मरेपछि बेसहारा बनाइएकी उसकी विधवा, नेवारको छोरो भएर गुठी जान नपाएको पींडा, अनि प्रजातान्त्रिक नेपालमा पनि परिवर्तनको प्रमाण नपाउँदा छोरा प्रकाश अन्तत : नेपाली हुनुभन्दा भोटे हुनुमा नै सन्तोष मान्छ। फुर्तेम्बा जस्तै।

प्रकाशको यो क्रान्तिकारी कदमले एउटा व्यापारीको नैतिकता र राष्ट्रियताबारेमा मात्र प्रश्न गर्दैन, पितृसत्तात्मक समाजमा महिलाविरुद्धका हिंसाको फरक पाटो पनि प्रस्तुत गर्छ। बुहारी विदेशी भएमा सहजै नागरिकता दिने तर ज्वाई विदेशी भएमा अनेकैं कठिनाई पार गर्नुपर्ने संविधासभाको मौलिक हक समितिको प्रतिवेदनको पनि भझल्को आउँछ। नेपाली र तिब्बतीका नाताको अलावा उपन्यास बौद्ध दर्शनका कारण पठनीय बनेको छ। उपन्यासले इतिहास मात्र भन्दैन, अहिलेको तिब्बती मान्छे, उनीहरूका धर्मबारे जान्ने उत्सुकता पनि उत्पन्न गराउँछ।
डोरबहादुर विष्ट साहित्यकार होइनन्, त्यसैले पनि उनको कृतिमा औपन्यासिक तत्वहरूको खोजी गरेर टिप्पणी गर्नु उचित हुँदैन। तर, जसरी उनले उबेलाको भोटबारे वर्णन र समाजको विश्लेषण गरेका छन्, त्यसरी नै भोटको राजनीतिमा नेपालको प्रभावबारे पनि केही चर्चा गरेको भए, त्यसले नेपाल र भोटवासीको ऐतिहासिक सम्बन्धको अझ धेरै आधारबारे बोल्ने थियो। जस्तो कि, उपन्यासकारले भोटका राजा स्रोङ चङ गम्पोसँग नेपाली चेली भृकुटीको विवाह भएको त उल्लेख गरेका छन् तर १८४६ सालमै पहिलोपटकको नेपाल भोट युद्ध र फेरि जंगबहादुर राणाले १९१२ गरेको चढाई र यसले दुईपक्षीय सम्बन्धमा पारेको असरबारे उपन्यास लगभग मौन छ। सानुमानलगायत धेरै नेपालीका लागि भोटको व्यापार सहज हुनुमा बौद्ध धर्ममात्र होइन, नेपालले सातौ सताब्दिदेखि नै भोटमाथि पार्दै आएको राजनीतिक प्रभाव पनि महत्वपूर्ण थियो भन्नु गलत हुँदैन। त्यतिबेलाको भोटमा चिनियाँ उपस्थिति पाठकले जान्न चाहाने अर्को विषय हो। २०१६ सालमा चीनको कब्जा जमाएको त्यही भूमिमा यसअघि चिनियाँ उपस्थितिको बारेमा पनि उपन्यासका कुनै घटना नखुल्दा केही खल्लो भने लाग्छ नै।

तर, पाठकको बिडम्बना नै भन्नुपर्छ, यति स्वादिष्ट उपन्यास पढिसकेपछि धन्यवाद दिनुपर्ने उपन्यासकार भने अझै पनि स्थिती अज्ञात छ। १४ बर्षअघि एकाएक हराएका विष्ट उपन्यासमा उनकै पात्र पेम्बाढोमा झैं गायब छन्। सानुमानले पेम्बाको अवतारको रुपमा व्रजवाराही पाए झैं हिमाल किताबले पाठकका लागि सोतालाको पुर्नप्रकाशन गरेको ठान्नुवाहेक हामीसँग अहिलेका लागि अर्को विकल्प छैन।

उपन्यास : सोताला
लेखक : डोरबहादुर विष्ट
पृष्ठ : १४५
प्रकाशक : हिमाल किताब
मोल : दुई सय पचास रुपैंयाँ।

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom