Loading

आफ्नै भक्तले डुबाएका देवकोटा / डीपी भण्डारी

Laxmi Prasad Devkotaकुनै पनि मुलुक र त्यहाँका सार्वजनिक क्षेत्रका व्यक्तिको मूल्यांकन गर्नुपर्दा त्यस समाजको बौद्धिक स्तर पनि हेर्नुपर्छ। यस अवस्थामा हामी हाम्रा महाकवि देवकोटा पनि परेको मान्न सक्छौँ। अर्थात् देवकोटाको मूल्यांकन गर्न उनलाई समग्रमा हेर्न खोज्नेहरूले उनका भक्त र प्रशंसक हुँ भन्नेहरूको भनाइलाई पनि हेर्नुपर्ने हुन्छ। हालसम्म देवकोटाका विषयमा जति पनि कुरा आए तीमध्ये केही सही, वास्तविक र वस्तुनिष्ठ भए पनि कतिपयचाहिँ काल्पनिक र अव्यावहारिक नै छन्।

देवकोटालाई भए, नभएका नानाथरी विशेषण दिएर उनलाई डुबाउनेहरू उनकै भक्तजन हुन्, अरू कोही होइनन्। त्यस्ता भक्तहरूले उनलाई टैगोर, शेली, किट्स वा इलियटसँग तुलना गरेर उनको अवमूल्यन गरेका छन्। उनीहरूमध्येकै कतिपयले उनका बारे मञ्चमा बोलेर र कतिले अनेकथरी पढाएर कक्षा कोठाबाटै नयाँ पुस्तालाई गलत सन्देश दिएका छन्। त्यस्तो जमातले उनी संसारकै सबैभन्दा ठूला कवि हुन् भन्ने गरेको पनि सुनिन्छ। त्यस्तो मूल्यांकन कहिल्यै पनि सही हुँदैन। त्यसैले देवकोटालाई वास्तविकरूपमा चिन्न चाहनेहरूले उनीबारे वस्तुनिष्ठ मूल्यांकन गर्नुपर्छ। कुनै पनि व्यक्ति वा वस्तुको वास्तविक मूल्यांकन गर्न पूर्वाग्रह वा अतिशयोक्तिबाट मुक्त हुनैपर्छ। आग्रह मनमा राखेर सही मूल्यांकन हुन सक्दैन। आफ्नो सम्बन्ध वा नकारात्मक केही कुरा भए त्यसलाई पनि परै राखेर वस्तुनिष्ठ बन्न सक्नुपर्छ। नेपाली साहित्यमा सायद देवकोटामात्र त्यस्ता व्यक्तित्व हुन् जसलाई अनेक थरीले अनेक किसिमले मूल्यांकन वा टिप्पणी गर्छन्। संभवतः धेरै किसिमले र धेरै मात्रामा टिप्पणी गरिएका नेपाली सर्जक पनि उनै हुन्। जताततै बच्चा-बच्चाले हाम्रा महाकवि देवकोटा महान् हुन् भन्ने गरेको सुनिन्छ। सायद पद र कथित सम्मानका पछि नलाग्ने भएकै कारणले होला, उनी महाकवि भएकै कारण पनि यति चर्चामा ल्याइएका। किनभने हाम्रो सामाजिक संस्कार पनि यस्तै छ। हाम्रो मुलुक नेपाल साहित्य नबुझ्ने बज्रस्वाँठ प्राध्यापक र अन्टसन्ट लेख्नेलाई पनि महान् भन्ने समालोचकको बाहुल्य भएको देश हो। उनीहरूजस्तै पत्रु कविहरू आफ्नै कवितालाई महान् भन्दै आफूलाई आफैँ देवकोटासँग तुलना गराउन लागेका हुन्छन्। यस्ताको भिडमा देवकोटाबारे गरिएका, नबुझिएका मूल्यांकन वा अति प्रशंसालाई चिर्दै सही मूल्यांकन गर्नु आजको चेतनशील पुस्ताको दायित्व हो। हामीले देवकोटालाई चिन्न उनको स्वच्छन्दता, उदात्तता, विशालता, दार्शनिक चिन्तन र अन्य सबै पक्ष राम्ररी बुझ्नुपर्छ। उनको असली रूप नचिन्ने हो भने हामीले पनि उही पुरानै शैलीमा उनलाई महान् थिए, गरिब थिए र पागल थिए भन्दै हिँड्नुपर्ने हुन्छ। यो भ्रम नयाँ पुस्तामा सर्दै गए अझ तिनीहरूले पनि यही रटान गरिरहनेछन्। देवकोटाका कविता वा अन्य रचना सरल र जटिल दुवै किसिमका छन्। ती सबै रचनाको उचित मूल्यांकन हुनुपर्छ। सबै रचनाको आयाम बुझेर मात्रै टिप्पणी गरे उनीमाथि अहिलेसम्म भइरहेको अन्याय सच्चिन सक्छ। नत्र उही बज्रस्वाँठहरूले भन्ने गरेको 'देवकोटा संसारका सबैभन्दा ठूला र महान् कवि हुन्' भन्ने कुरामात्रै दोहोरिन्छ।

देवकोटालाई उनको एउटै कविता 'पागल' ले निकै उचाइमा पुर्यारयो। समाजले उनलाई यही कविताकै कारण पागल पनि भन्न थाल्यो। मैले उनलाई २०१६ सालतिर डिल्लीबजारको लप्टनको होटलमा चिया खान पस्दै गरेको देख्दा मलाई चिनाउने मान्छेले परबाट 'ऊ पागल कवि देवकोटा आयो' भन्दै चिनाएको थियो। त्यो बेला सोझै गएर बोल्न मलाई धक लाग्यो, पछि चाहिँ उनीसँग भेट्ने मौकै मिलेन। उडाउनेहरू, नबुझ्नेहरू र माया गर्नेहरू सबैले उनलाई पागल कविता लेखेपछि पागल कवि भन्ने गरेका रहेछन्। उनको छवि नै पागल कविको बनेको थियो।

म देवकोटाको 'मुना-मदन' खण्डकाव्य पनि निकै मन पराउँछु। अझ नारायणगोपालको स्वरमा यस कृतिका गीत सुन्दा त म लठ्ठै पर्छु। यस कृतिले भित्रैदेखि छुन्छ अरु नेपालीलाई जस्तै मलाई पनि। मलाई मन पर्ने देवकोटाको शाकुन्तल महाकाव्य पनि हो। त्यस महाकाव्यको आफ्नै उचाइ र मौलिकता छ। सबै नेपाली पाठक र लेखकका लागि त्यो गर्व गर्नलायक कृति हो भन्ने मलाई लाग्छ। सिंगो नेपाली साहित्यले गर्व गर्न लायक कृति हो त्यो। मेरो आफ्नै ज्ञान सीमित भएका कारण पनि मलाई यस्तो लागेको हुनसक्छ। त्यसमा माफी माग्दै म आफ्ना विचार भने यहाँ राख्न चाहन्छु। मैले पटकपटक पढे पनि त्यो किताब मलाई जहिले पनि मन पर्छ र यसबारे अझै बुझ्न बाँकी छ भन्ने लाग्छ। कतिपय समालोचकले कालिदासको शकुन्तला पढेर त्यसको प्रभावको महाकाव्य भने पनि शकुन्तलाको आफ्नै विशिष्टता छ, शाकुन्तलको आफ्नै। शकुन्तलाबारे त जर्मन कवि गेटेले समेत आफ्ना साथीसँग कुरा गर्दा ऐश्वर्य नै चाहन्छौ भने शकुन्तला पढ भनेका थिए। यसले नै शकुन्तलाको उचाइ र गौरव थाहा हुन्छ। शाकुन्तलचाहिँ नेपालकै सबैभन्दा स्तरीय महाकाव्य हो भन्ने मेरो ठम्याइ हो। यस कृतिको स्तरमा अन्य नेपाली महाकाव्य छैनन् भन्ने मेरो अल्पज्ञानको ठम्याइ हो। 

हुन त विश्वमा सबैभन्दा बढी लेखिने, कम पढिने र सही अर्थमा लेख्न गाह्रो कुरा पनि काव्य नै हो। मलाई त यसबारे बोल्न पनि गाह्रो लाग्छ। जसको पायो त्यसको कविताले मलाई छुँदैन पनि। तर, नेपालमा जो पनि कवि छ र कविताबारे जसले पनि बोल्छ। म चाहिँ देवकोटालाई जति पढ्छु त्यति नै उनीबाट प्रभावित हुन्छु। असल कविमा अन्तर्द्वन्द्व, संघर्ष र चेतना हुनुपर्छ। म देवकोटाका रचनामा यिनै कुरा पाउँछु। यीसबै कुराले नै उनलाई उदात्त भावनाको कवि बनाएको हो। उनी विदेशी कवि फलानोजस्तो त म भन्दिनँ, बरु उनी नेपाली साहित्यका उच्च कोटीका महान् कवि हुन् भनेर चाहिँ भन्नै पर्ने हुन्छ। उनी थिएनन् भने कोही कोही फुटकर राम्रो लेख्ने साहित्यकार हुन्थे होला तर समग्रमा त्यस उचाइमा लेख्ने कोही हुँदैनथ्यो। उनी नभएका भए नेपाली साहित्यमा एउटा ठूलो 'भ्याकुम' हुन्थ्यो र नेपाली साहित्य भण्डार रित्तोजस्तै हुन्थ्यो। 

देवकोटा आफैँमा मस्त कवि थिए। कविहरू प्राय सबै मस्त हुन्छन् नै। भारतीय कवि निराला, पश्चिमा कवि शेली र किट्स पनि मस्त नै थिए। चित्रकारिता, साहित्य र संगीत क्षेत्रमा लागेकाहरू प्राय मस्त नै हुन्छन्। मस्त हुनु नियोजित नभएर स्वस्फूर्तता थियो उनको व्यवहारमा। उनका हरेक व्यवहार, लेखाइ र सोचमा प्रतिभाको झझल्को देखिन्थ्यो। उनलाई आज पनि गरिब र पागल थिए भनेर पुकारिन्छ। तर, उनी गरिब थिएनन्, बरु मस्त मान्छे थिए। उनलाई बाहिरी संसारका लिनुदिनुसँग खासै वास्ता थिएन। त्यस्ता मान्छेले घुस खाँदैनन् र भएको पैसा पनि जोगाउन चाहँदैनन्। उनी बेपर्वाह पनि थिए। आकाशको तारासँग संवाद गर्ने र सामान्य लोकभन्दा माथिको चिन्तन राख्ने कवि समाजभन्दा फरक त हुन्छ नै। त्यही फरकपनाको आलोकमा, आफ्नै चिन्तनको प्रकाशमा उनी लठ्ठिए। उनी त्यस्तै मस्ती र बेपर्वाह भएका कारण उनलाई गरिब, पागल र त्यस्तै केके भनिएको होला। गरिब भनिदिँदा उनलाई महान् भनेजस्तो हुन्छ भनेर पनि धेरैले उनलाई 'गरिब' को बिल्ला भिराइरहेका होलान्। उनी गरिब होइन, अव्यवस्थित कवि थिए। हरेक जयन्तीमा उनी गरिब थिए, त्यसकारण महान् हुन् भन्ने भट्टयाउने गरिन्छ। यो अर्को दरिद्र र मागिखाने चिन्तन हो।

देवकोटाबारे अर्को नभनी नहुने कुरा र सन्दर्भ चाहिँ के हो भने उनको पारिवारिक अवस्था राम्रो थिएन। तर, त्यो गरिब भएर मात्र होइन जस्तो मलाई लाग्छ। उनको पारिवारिक स्थिति उनकै मस्तीपन र श्रीमतीको भक्तिमार्गको चेपमा परेको थियो भन्ने मलाई लाग्छ। उनकी श्रीमती पहिलादेखि नै धार्मिक काममा मात्र लिप्त थिइन्। देवकोटाचाहिँ जहिले पनि कविताकै चिन्तनमा लाग्थे। यसले गर्दा घर लथालिंग भएको थियो। बाहिरबाट हेर्नेहरूले त्यसलाई गरिबीका कारण भएको भने। गरिब थिए नै भने पनि गरिब हुनु न त गौरवको विषय नै हो, न त लाजमर्दो वा सहानुभूति राख्नुपर्ने विषय नै। उनको स्थिति, मनस्थिति र यथार्थ राम्ररी बुझिएन र उनी गरिब भएकैले महान् थिए भनियो। जीवनको अन्तिम समयसम्म उनी धर्मका नाममा मूर्तिपूजा नगर्ने चिन्तनका व्यक्ति थिए। नास्तिक नभए पनि अस्तित्वमा मात्र विश्वास गर्ने किसिमका थिए उनी। अहिलेको मान्छेको आदर्श उपयोगितावाद र त्यसभन्दा परको आनन्द र मस्तीमा मात्र उनी भेटिन्थे। यस अवस्थामा जीवनको अन्तिम समयमा उनले आखिर श्रीकृष्ण रहेछ एक भनेछन्। यो धर्मकर्म मात्र गरिरहने श्रीमतीलाई खुसी पार्न मात्र आएको पनि हुनसक्छ। अथवा उनले आफ्नै चिन्तनले ईश्वरको अस्तित्व स्वीकार गरेको पनि हुनसक्छ। जे भए पनि यसलाई कम्युनिष्ट हुँ भन्नेहरूले आलोचना गरे। यो आलोचना पनि ठीक होइन।

उनी नेपाली साहित्यका उच्च कोटीका कवि हुन्। उनी नहुँदा हुन् त नेपाली साहित्यमा एउटा ठूलो अभाव वा रित्तोपन हुन्थ्यो भन्ने मलाई लाग्छ।

(पदम गौतमसँग वार्तामा आधारित)

Comments