Loading

मेरो छोरो पनि ठूलो मान्छे भएछ

वर्ष चौबीसको,
गहुँ गोरो,
च्यूँडोमा सानो खत भएको,
दुब्लो दुब्लो,
चुरोट नखाने,
रक्सी नखाने,
अविवाहित,
घण्टाघर  नजिकैको कलेजमा
आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने
अग्लो अग्लो
एक जना मेरो छोरो —
धेरै बाठो,
यो काठमाडौंमा कहाँ बस्छ खोई ?
— म उसलाई खोज्न आएको ।
 
म उसलाई खोज्न आएको —
गाउँबाट
उसको बाबु
एक्लो एक्लो,
भौतारिँदै
यता खोज्दै—
उता खोज्दै ।
मेरो छोरो—
साह्रै सोझो ,
साह्रै कंचन,
बोल्न ओर्न बिघ्न बाठो,
जताततै अगाडि लाग्ने,
अलि रिसाहा —
उद्दण्ड बानी ,
धेरै पढ्ने,
धेरै लेखने,
भावुक भावुक मेरो छोरो
यो काठमाडौंमा कहाँ डेरा गरी बस्छ ?
—म उसलाई खोज्न आएको
—उसको बाबु ।
 
म उसको बाबु —
उसलाई अलिकति चामल लेराइदिएको
(भात पकाई खाला ),
उसलाई अलिकति गुन्द्रुक लेराइदिएको
(च्वास्स अचार बनाउला ),
पाखो बारी बेचेर
उसलाई अलिकति खर्च लेराइदिएको
(अभावले नपिरोल्ला ),
उसकी आमाले बारीमा फलाएको
नासपाती लेराइदिएको
(खाजा बनाउला ),
उसलाई यी सब माया सदभावनाका पोकाहरू
बुझाउन आएको —
—यो शहरमा  कहाँ बसेको छ
खोइ मेरो छोरो ?
 
तर हरे !
जुलुसको माला लगाएर
आगोमा लडीबुडी खेल्दै हिँडेको
सारा नेपालले देखेको रहेछ उसलाई
नीडर छातीमा गोली थापेको
हाँस्दै हाँस्दै अय्या... भनेको
साथीहरूले देखेका रहेछन् उसलाई ,
रगतको आहालमा डुबेर
निसास्सिएको छटपटिएको
वरपर सबैले देखेका रहेछन्  उसलाई ,
र अहिले म रमा गृहको सूचना पाटीमा टाँसिएको
उसको भव्य अनुहार
देखिरहेको छु ,
—आहा ! मेरो छोरो पनि ठूलो मान्छे भएछ ।

Segments: 

Comments