Loading

म 'सम्राट' नभएर 'विद्यार्थी' हुँ : ज्ञानुवाकर / मनोज न्यौपाने

ज्ञानुवाकर पौडेलवि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट  वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस 'मधुपर्क' मासिकमा उहाँको गजल सर्वप्रथम २०३७ सालमा प्रकाशित भएको हो । उहाँका 'खण्डहर नयाँनयाँ' (२०४८) र 'जिन्दगी छैन अचेल जिन्दगीजस्तो'  (२०६८) गरी दुई गजलकृति प्रकाशित छन् । गजलकार पौडेलसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको विधावार्ता :

 

तपाईं गजल लेखनमा किन आकषिर्त हुनुभयो ?

 

३० का दशकमा आफ्ना समकालीन कवि मित्रहरूको रचनामा देखिएको 'स्ट्रङ इमोसन' गजलमा पनि प्रयोग गर्ने दृष्टिले लागेको थिएँ । परिणाम  

उत्साहजनक रह्यो । गजलले त अभियानकै रूप लिएछ ।

 

गजल नलेख्नु भन्ने साहित्यकारलाई के भन्नुहुन्छ ? किन यसरी गजलको विरोध भइरहेको होला ?

 

खै के भन्ने ! साहित्यकारको काम अन्य विधाकालाई खेदो गर्ने त होइन तर गरिरहेछन् । साहित्यमा रुचि राख्ने सबैको मन जितेर, पाठकले मनमा ठाउँ बनाएर पो आफ्नो सिर्जनशीलता प्रमाणित गर्नुपर्थ्यो, होइन र

 

अहिले नेपालमा सबभन्दा बढी गजल लेखिन्छ भनिन्छ तर अन्य विधाकालाई  धेरैलाई यो कुरो किन नपचेको होला ?

 

आफ्नो गजलमा 'रसबोध' गराउनसक्ने समर्थ र गम्भीर गजलकार हामीसित धेरै नभएकै कारण गजलको विरोध भएको हुनसक्छ । अर्थपूर्ण र गुणस्तरीय गजल लेख्नेको सङ्ख्या बढ्दैछ । विरोध पनि थामिएला विस्तारै ।

 

उर्दूमा गजल केन्द्रीय विधा हो । नेपालीमा नि कुनै दिन यो केन्द्रीय विधा हुनसक्तैन ?

 

यसका लागि गजलले अझै लामो यात्रा तय गर्न बाँकी छ । किनभने हाम्रोमा गजलले लोकप्रियता त प्राप्त गर्यो तर उच्चस्तरको गजल लेख्नेहरूको सङ्ख्या भने अपेक्षित सङ्ख्यामा छैन ।

 

गजलको परिभाषा कसरी गर्नुहुन्छ ?

 

कविता कविको मनको पखेटा हो । मेरो विचारमा गजलका बारे पनि यो परिभाषा सटिक होला । कारण, गजल कविताकै कोखबाट जन्मेको एउटा स्वतन्त्र स्वरूप हो । सुनबाट गहना या चामलबाट पुलाउ या खीर बनेझैँ ।

 

एकथरि गजल छन्दमा लेखिनुहुन्न भन्छन्, तपाईं शास्त्रीय छन्दमा लेख्न हुन्न भन्नुहुन्छ, छन्दबारे धारणा स्पष्ट गर्नुहुन्छ कि ?

 

म छन्दको विरोधी रहिनँ । छन्दको नियन्त्रित स्वच्छन्दताको मात्र कुरा गर्ने गर्या हुँ । जति भन्नुपर्ने हो त्यतिभन्दा बढी नभन्ने आत्म सजगताले नै कवि, गजलकारलाई सफल बनाउने हो ।

 

तपाईंलाई 'गजल सम्राट' पनि भनिन्छ । अरूको यस भनाइप्रति तपाईं किन आपत्ति जनाउनुहुन्छ ?

 

म त साहित्यको विद्यार्थी हुँ । त्यसैले त अध्ययन पनि गरिरहन्छु । अरूभन्दा 'ठूलो' हुने दौड अहङ्कारको दौड हो । मलाई त साहित्यको विद्यार्थी हुनुमै तृप्ति छ ।

 

या त ३०को दशकमा राम्रा गजल लेखिए या त ५० को दशकपछि भन्ने तपाईंको कथनलाई प्रष्ट पार्नुस् न ?

 

गद्य कविता र छन्द कविता दुवैको 'रसायनशाला' बाट खारिँदै आएकोले र कविताजस्तै अर्थपूर्ण र गहन पनि हुँदै आएकोले गजल अचेल धेरैलाई रुच्दैछन् ।

 

गजल गायन चाहिँ नेपालीमा किन पछि परिरहेको छ ? यसको विकासका लागि के गर्नुपर्ला ?

 

विस्तारै विस्तारै अब अघि बढिरहेछ नेपाली गजल गायन पनि । तर अपेक्षित विकासका लागि अर्थपूर्ण र गम्भीरखालको गजल लेखेर गायक सङ्गीतकारलाई पनि त्यसको महत्त्व बुझाउनसक्नु पर्यो ।

 

सुरु सुरुमा तपाईंका गजललाई होच्याइन्थ्यो रे ! कसरी होच्याइन्थे ?

 

होच्याउन त पद्य कविहरूले पनि गद्य कविहरूलाई खुब होच्याउँथे रे ! के फरक पर्यो गद्य कविहरूलाई ? मुख्य कुरो लेख्न र साधनाको निरन्तरता छाड्न नहुने रै'छ । विरोधी आफैँ चुप लाग्छन् ।

Comments