Loading

युग पाठकलाई पहिलो किरात एकेडेमी पुरस्कार

काठमाडौं/ उपन्यासकार तथा स्तम्भकार युग पाठकलाई पहिलो किरात एकेडेमी पुरस्कार दिइने भएको छ। पाठकको उपन्यास 'उर्गेनको घोडा'का लागि यो पुरस्कार दिन लागिएको एकेडेमीका कार्यकारी अध्यक्ष भूपाल राईले बताए । 

उपन्यासमा नेपाली जनयुद्ध, तामाङ जाति र ताम्सालिङ राज्यप्राप्तिको आन्दोलनलाई कलात्मक उच्चतासहित प्रतिविम्बन गरेकाले पाठकलाई पुरस्कृत गरिएको एकेडेमीले जनाएको छ । 'किरात एकेडेमी नेपालले जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई सुदृढ गर्ने भावनाअनुकूलका कृतिलाई पुरस्कृत गर्ने उद्देश्यले पुरस्कार स्थापना गरेको हो,' एकेडेमीका सहसचिव भोगीराज चाम्लिङले भने, 'हरेक वर्ष कला, साहित्य र संगीतलगायतका विधाका स्रष्टालाई पुरस्कार प्रदान गरिनेछ ।' 

पचास हजार रुपैयाँ राशिसहितको पुरस्कार माओ दिवसको अवसर पारेर आगामी पुस ११ गते वितरण गरिनेछ । पुरस्कृत स्रष्टा पाठक नयाँ पत्रिकाकर्मी हुन् । हाल उनी आफ्नो दोस्रो उपन्यास 'चुरे-मध्य-रेखा'को अन्तिम तयारीमा जुटेका छन् । पुरस्कारको घोषणापछि प्रतिक्रिया दिँदै पाठकले भने, 'यो पुरस्कारले मलाई होइन, नेपाली जनताको परिवर्तनप्रेम र तामाङ जातिको सौन्दर्यलाई सम्मान गरेको छ ।'

[Source: Naya Patrika]

Segments: 

Comments