News
Nepali Literature News नेपाली साहित्य खबर
Demise of Encyclopedia of Nepali Literature
भारतमा अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुने
चैत्र २०७३, भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एसियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन् । नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ वैशाख २९ गते नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त महोत्सवमा नेपाली साहित्यका प्रखर हस्तीहरूको जमघट हुने जानकारी आयोजक पक्षले दिएको छ ।
प्रज्ञामा पुस्तक मेला
काठमाडौ, माघ १६ - लामो समयदेखि केही फरक र नयाँ पुस्तकको खोजीमा थिए लेखक कुमार नगरकोटी । पसलमा नपाइने किताब कहिलेकाहीं प्रदर्शनीतिर फयाट्ट भेटिई पनि हाल्छ । यस्तै, संयोग मिल्यो राजधानीमा बिहीबार सुरु 'दोस्रो राष्ट्रिय पुस्तक मेला' मा ।
नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सुरु प्रदर्शनीमा कुमार बिहानै भेटिए । उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन नगर्दै कुमारले प्रदर्शनी घुमेर केही किताब पनि किनिसकेका थिए ।
मुक्त अनुभूतिमा नारी स्रष्टा
काठमाडौ, माघ ११ - मोमिला जोशी र विमला तुम्खेबा समकालीन नेपाली साहित्यका सशक्त कवि मानिन्छन्। यी दुई स्रष्टा शनिबार दिउँसो एकसाथ रचना वाचनमा देखिए। मासिक कविता वाचन शृंखला 'मुक्त अनुभूति' को आठौं शृंखलामा यी दुई प्रस्तुत भएका हुन्। अन्तरक्रियासहितको वाचन शृंखलामा धेरैजसो नारी संवेदना, अस्तित्व र प्रेमसित सम्बन्धित कविता प्रस्तुत भए। शृंखलाको सुरुआत मोमिलाले अस्तित्व र विसंगतिजनित कविता 'पीडाको महोत्सव' बाट गरेकी थिइन्। यसपछि यिनले चर्चित चित्रकार भ्यानगगको 'द स्पेरी नाइट' चित्रबाट प्रभावित 'तारा बेलेको रात' सुनाइन्, यसमा पनि उनले अस्तित्वकै प्रश्न उठाएकी थिइन्। यो क्रमलाई उनले 'पुतलीको घर, नोरा र म' कविताले जोडिन्, नर्बेली नाटककार हेनरिक इब्सेनको चर्चित नाटक 'अ डल्स हाउस' बाट प्रभावित यो रचनामा पनि उनले नारी अस्तित्वकै सवाल उठाइन्।
असममा देवकोटा / पर्वत पोर्तेल
असमको राजधानीस्थित डाउन टाउन युनिभर्सिटीको सभाकक्ष खचाखच थियो । प्रायः सेमिनार भइरहने यो सभाकक्षमा शनिबार आयोजित समारोह भने भिन्न थियो । ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष तथा चौबन्दी चोली अनि फरियामा सजिएका महिलाको संख्या निकै थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जनामा पाइने मानवतावादबारे चर्चा गर्न नेपाल र भारतका साहित्यिक अगुवा भेला भएका थिए ।
सयपत्री संस्कृत्यकला संगम, गुवाहाटीद्वारा आयोजित समारोह अग्रज साहित्यकार लीलबहादुर क्षेत्री र गीता शर्माले उद्घाटन गरेका थिए । 'देवकोटाका अधिकांश सिर्जनामा मानवतावादी चरित्र भेट्न सकिन्छ', कवि नव सापकोटाले भने । साहित्यकार गीताले थपिन्, 'उनको त्यही मानवतावादी चेतलाई चाहिँ लिएर अघि बढ्दा विश्वमा नेपाली साहित्यलाई राम्ररी चिनाउन सकिन्छ ।'
हङकङमा मुक्तक मेला / निर्मल श्रेष्ठ
हङकङ, माघ ५ - बामे सर्दै खेलेको आँगन भुल्न कहाँ सकिन्छ र
दसै धारा दूधको भारा तिर्न कहाँ सकिन्छ र...
मुक्तककार रामकाजी कोनेको मातृभूमि प्रेमले ओतप्रोत पहिलो वाचनले नै दर्शकश्रोताको ध्यान खिच्यो । तालीले हल गुन्जायमान बन्यो । रामकाजीले लगालग सिर्जना प्रस्तुत गर्दै गए । लाग्थ्यो, मुक्तक चोटिलो, पोटिलो र रसिलो हुन्छ भन्ने दर्शकश्रोताले पहिलोपटक थाहा पाउँदै छन् ।
'मुक्तक मन्त्र' र 'मुक्तक मेला' गरी दुई पुस्तक निकालेका रामकाजी नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष हुन् । पेसाले भने खाँटी व्यवसायी । 'तपाईं व्यापारी मान्छे, साहित्यमा कसरी लाग्नुभयो ? यसमा के छ मज्जा ?' उनले सधैंजसो झेल्नुपर्ने प्रश्न रहेछ यो । नमोबुद्ध क्लबको सभाहलमा आइतबार दिउँसो उनले यसको जवाफ मुक्तकबाटै दिए ।