Budhyaulio Banchiraheko Chhu : Durgalal Shrestha

No votes yet
बुढ्यौली बाँचिरहेको छु:  दुर्गालाल

असन, ठमेलको होहल्ला, अनि जीवनको आठ दशक बिताएको ठाउँ छाडेर बूढानीलकण्ठको एकान्त बासमा आएपछि केही समय एकान्तले अत्यास लागे पनि अहिले सिर्जनाको लतले आनन्दित बनाइरहेको छ । साथीभाइ आफन्तजनको आउजाउ कम छ, होहल्ला पनि कम छ तर सिर्जना बढेको छ । यसैमा सन्तोष बढेको छ । चिसो बढ्दै गएको काठमाडौँको साँझ बूढानीलकण्ठस्थित कम्फर्ट हाउजिङको २० नम्बर घरमा कार्यक्रम सकाएर थकाइ पनि मेट्न पाउनुभएको थिएन, उहाँसँग कुराकानी गर्ने अवसर छोपिहालेँ । 
ठिक्कको कद, सेतै फुलेका कपाल, हिँड्न केही अप्ठेरो भएजस्तो, सास फेर्न असहज महसुस भएजस्तै, कान धेरै कम सुन्ने एकजना मानिस, जसले नजानेर साहित्यमा कलम चलाउँदा आजको यो अवस्थासम्म आइपुगुँला भनेर न उहाँले सोच्नुभएको थियो न त अरूले नै । 

सोचेजस्तो कहाँ हुँदोरहेछ र, मजस्तो अनपढ, बाउबाजे कसैले कलम नचलाएको परिवारमा जन्मिएको मान्छेले इखैइखमा चलाएको कलमले आज दुर्गालाल श्रेष्ठको नामबाट चिनिने भएको छु । उहाँ अतीततिर फर्कन थाल्नुहुन्छ– चार सालको कुरा त हो, गाईजात्राको डबलीमा देखाउन नाटक लेख्नुपरेको थियो । त्यतिबेला १५÷१६ वर्षको हुँदो हुँ, जीवनमा कहिले कवितासम्म नकोरेको मजस्तो मान्छेले एकैपटक नाटक लेख्न पुगेँ । त्यही नाटक लेखन नै मेरो साहित्यिक जीवनको आरम्भ बनिदियो, पछि नाटकमा यस्तरी लत बस्दै गयो कि यसैमा अघि बढ्दै गएँ, त्यसैले होला पढाइमा पछि परियो । 

टोलटोलमा नाटक देखाउने, नाच देखाउने काठमाडौँको संस्कृतिमा हुर्किनुभएका बालक दुर्गालालको बाल्यकाल यस्तै नाटक, नाचमै रमाउँथ्यो । अर्काले नाटक रिहर्सल गरिरहेको ठाउँमा ढोकाको प्वालबाट चिहाउन पुग्दा औँलाले आँखा घोचेर घाइते बनाएको घटनाले किशोरावस्थाको दुर्गालाललाई आफैँ नाटक लेखेर देखाउन इख पलायो र त्यही इखले आरम्भमा नाटककार बन्नुभयो । पछि नाटकमा गीतको आवश्यकता परेपछि गीत पनि लेख्दै जानुभयो र यही क्षेत्रले चर्चामा ल्याइदियो । यही आवश्यकताले नै अभिनय, निर्देशनमा पनि लाग्नुप¥यो उहाँले । आफ्नै अनुहार नायक बन्न योग्य नलागेकोले नाटकमा सधैँ सामान्य भूमिकामा (ज्यापू, नोकर, छुच्चो स्वभावको जमिनदार आदि) अभिनय गर्ने दुर्गालालको जीवनको एक दशक नाटकमै बित्यो । पछि कवि, बालसाहित्यकार, अनुवादक आदिका रूपमा चिनायो वा भनौँ चिनिन थाल्नुभयो । 

८४ वर्षको उमेर टेक्न लाग्नुभएका दुर्गालाल अहिले आएर त्यतिखेर साहित्यमा आफूले खेलवाड गरेको ठान्नुहुन्छ र भन्नुहुन्छ– लेख्न त मैले आफैँ नाटक लेखेँ, देखाएँ पनि तर के लाग्छ भने त्यो लेखन मैले साहित्यमा गरेको खेलबाडजस्तै लाग्दै छ । मजस्तो साहित्य नपढेको, नबुझेको मान्छेले साहित्यजस्तो गहन विषयमा कलम चलाएर न्याय गरिनँ कि अहिले आएर आफैँलाई यही प्रश्न गरिरहेको छु । 

जीवनको सात दशकसम्म लेखेरै बिताउने दुर्गालालले कति लेख्नुभयो, कस्तो लेख्नुभयो, त्यसको लेखाजोखा गर्नुभएको छैन तर विगत दुई वर्षमा आफूले दुई दर्जन कृति लेख्न सकेको कुराचाहिँ बिर्सिनुभएको छैन । खुसीसँगै पीडा पनि छन् उहाँसँग, लेखनले दिएको सुख र सम्मान, नाम र पहिचान सुखका रूपमा एकातिर छन् भने उही दुर्गालालसँगै पीडा र दुःखका समय पनि थिए र छन् पनि । भोकभोकै बस्नुपरेको गरिबी बेहोरेर जीवन बाँचेका दिनहरू पनि थिए । जीवन गुजाराका लागि आफ्नै टोलका विद्यार्थीलाई पढाउन बाल निकेतन स्कुल चलाएर छ÷सात वर्ष पढाएपछि कन्या मन्दिर स्कुल र वनस्थली माविमा अध्यापन थाल्नुभयो । त्यहाँ विद्यार्थीलाई गीतिलयमा पढाएको देखेपछि प्रधानाध्यापक केदारनाथ न्यौपानेले बालगीतको कृति निकाल्न प्रेरित गरेको र जीवन सङ्घर्षमा उहाँकोे उदारता र सहयोग बिर्सनै नसकिने गुण रहेको छ, उहाँमाथि । दुःखका अतीतलाई बिर्सिसक्नुभएको उहाँ भन्नुहुन्छ– दुःख र सङ्घर्षको कुरै नगरौँ, अचेलचाहिँ बुढ्यौलीले दुःख दिएको छ । बाँच्नु के रहेछ भन्ने कुरा बुढ्यौली लागेपछि थाहा हुँदोरहेछ, अहिले म त्यही अनुभव गरिरहेको छु । बुढ्यौली बाँचिरहेको छु । 

असननजिक न्हैकन्तलाटोलमा जन्मिनुभयो, ठमेलमा जीवनको लामो समय बिताउनुभयो, अहिले बूढानीलकण्ठमा आएर बस्दा कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?

सुरुमा त म केही आत्तिएको थिएँ । यो सुनसान ठाउँमा केही दिन त डराएँ पनि तर यही ठाउँ नै मेरो सिर्जनाको सबैभन्दा उर्वर बन्दै गइरहेको अनुभव गरिरहेको छु । उमेरसँगै बढ्दै गएका रोगहरूले पनि त्यत्तिकै दुःख दिएका छन् । सास फेर्न गाहो हुन्छ, कान त्यति सुन्दिनँ, अरूले बोलेको हेर्नेमात्र हो, सुन्ने काम कम छ । राति सुत्न खोज्यो सास फेर्न कठिन हुन्छ । उठेर बस्यो केही सञ्चो हुन्छ, निद्रा त कता हो कता । अनि कलम लिएर लेख्न बस्छु, आनन्द आउँछ, लेख्न बस्दा दमले पनि दुःख दिँदैन । यही अवस्थामै मैले दुई वर्षमा २५ वटा कृति लेखिसकेछु, ती सबै छोराले सङ्कलन गरेर राखेको छ । समय आएपछि प्रकाशमा आउला । हात–खुट्टा बाउँडिने रोग पनि छ, सबैभन्दा दुःख त यसैले दिएको छ । संसारमा विज्ञानले धेरै प्रगति ग¥यो त भन्छन् तर बाउँडिने रोगको ओषधिचाहिँ अझै बन्न सकेको रहेनछ । 

यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी गीतकार कालीप्रसाद रिजालको गीतले भनेजस्तै जीवन बाँचिरहनुभएको छ– दुर्गालाल श्रेष्ठ । उमेरले तीन वर्षको मात्र फरक आठ दशकको उमेर टेकिसक्नुभएकी उहाँकी जीवनसङ्गिनी अनि छोराबुहारी, नातिका साथ बस्दै आइरहनुभएको छ । बढ्दो उमेर, नानाथरी रोगले पनि उहाँको लेखन र सक्रियतालाई व्यवधान पु¥याएको छैन, निरन्तर लेखन, सभा–समारोहमा सहभागिता उहाँका दिनचर्या बन्न पुगेका छन् । 

नेपाली भाषाका पाठकका लागि पछि मात्र चिनिनुभएका दुर्गालालले नेपाल भाषामा कमाएको ख्यातिले उहाँलाई चिन्नेहरूको कमी थिएन, जनकविका रूपमा सम्मानित भइसक्नुभएका उहाँ नेपाल भाषा–साहित्यका माध्यमबाट प्रसिद्ध बनिसक्नुभएको छ । सय थरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल, फूलको आँखामा फूलै संसारजस्ता गीतले उहाँलाई लोकप्रियमात्र बनाएन धेरैका प्रिय गीतकारसमेत बनाइदियो । 

लेखनमा निरन्तर ७१ वर्षदेखि सक्रिय दुर्गालाल श्रेष्ठले नेपाल भाषामा कलम चलाएको धेरै पछि नेपाली भाषामा कलम चलाउन थाल्नुभएको हो । नेपाल भाषामा ख्याति कमाइसकेको स्रष्टालाई नेपाली भाषामा कलम चलाउँदा पनि त्यत्तिकै नाम र सम्मान मिल्यो । उहाँका अङ्ग्रेजी, जापानी, कोरियाली, चिनियाँ भाषामा पनि कृति प्रकाशित छन् । नेपाली भाषामा निमन्त्रणा (गीतिनाटक), इच्छाको सिमाना (बाल खण्डकाव्य), तपक, किरमिरे धर्साहरू, फूल तिम्रै बारीमा, इन्क्लाबको पदचाप, अन्तर्भाव (कवितासङ्ग्रह) चस्किँदो घाउ इतिहासको, अलिअलि टेक्सस्, सङ्घारैनिर, सन्तको छाता, सुनचरी, कागजको डुङ्गा (बालगीतसङ्ग्रह) आदि र भर्खरैमात्र बालगीतमा आधारित छ बालसचित्र पुस्तक प्रकाशित भइसकेका छन् । 

नेपाल भाषामा बढी समय र योगदान दिनुभएका दुर्गालालका झसुकाः, लिसं, लुँबुवहःबुँ, सर्गःसिबेनं धरती नमिंग्वाः, पीजा, निमन्त्रणा (गीतिनाटक) बिहांचुलि (गीतिनाटक), चिनियाम्ह किसिचा, ताइभाबा, सन्तया कुसा, उलिंचिया बाखं थुलिंचा, चिनियाचम्पा (अनूदित) कुलिकासा (अनूदित), सलंछ्योंया बेला,प्याखंपिचा (एकाङ्की नाटकसङ्ग्रह) प्रकाशित छन् । यस्तै, जि स्वयम्भू त्वाथः, याकः फल्चा, इन्कलाबया पलाः सः,ह्यू खः थ्व, लन्डन स्वां (अङ्ग्रेजी अनुवादसहित, लन्डनमा रचित) ग्वींनिला (अङ्ग्रेजीसहित) विक्रम संवत् २०६४ मा निम्ह तःकेहेँ विपस्सना मङ्गलसूत्र , बीनिभालय् ह्वःगु ख्वीप्यफ्वःस्वां, थःत मामां. हालागु म्ये, सातोआकि खण्डकाव्य (जापानी अनुवादसहित), हाइकू २१०ः, भिक्षुया मतिना खण्डकाव्य– ने.सं ११३ं० , चखुंचा ध्वग्गी, , थुया (नेपाली र अङ्ग्रेजी अनुवादसहित) सिद्धिचरणयाउर्वशी (अनूदित), सुलिं (हरिवंशराय बच्चनद्वारा लिखित) अनूदित, भगवान् दशबलया तुतः) आदि कृति प्रकाशमा आइसकेका छन् । 

दुर्गालाल श्रेष्ठको नाम लिनासाथ धेरैले सम्मानसाथ उहाँको नाम लिने गर्छन् । धेरै पाठक, श्रोता, दर्शकबाट माया र सम्मान पाउनुभएका उहाँले दुईपटक श्रेष्ठ सिरपा मूर्तिमान सिरपा, नरोत्तमदास इन्दिरा पुरस्कार, स्यस्य समाज सिरपा आदि लगायत जगदम्बाश्री, अभियान पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान, नूरगङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, छिन्नलता पुरस्कार, इमेज च्यानलबाट लाइफटाइम अचिभमेन्ट अवार्ड, जीएएबाट उत्कृष्ट नाट्य निर्देशक पदक नातिकाजी विशेष सङ्गीत सम्मान आदिबाट सम्मानित भइसक्नुभएको छ । 

नेपाल भाषा परिषद्बाट जनकवि र इसासबाट जनगीतकारको सम्मान पाउने उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्य हुनुहुन्छ । बालबालिकादेखि अग्रज उमेरसम्मका पाठकले, श्रोताले चिनेका दुर्गालालको खास सम्मान नै यही हो । लेखनमा निरन्तरता र यसै क्षेत्रमा केन्द्रित रहेर उहाँले दिनुभएको योगदान साँच्चै सम्मानयोग्य छ । फूलको आँखामा फूलै संसार भनेजस्तै दुर्गालालको आँखामा साहित्य नै संसार बनेको छ ।

First appeared in Gorkhapatra
About Personality: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.