Translator
Author
मेरी प्रेयसीका आँखा
घामजस्ता छँदैछैनन्
न त उनको ओठको लाली
सिपीको जस्तो रातो छ
हिउँलाई सेतो मान्ने हो भने
उनका स्तन त श्यामल छन्
अनि उनको शिरमा सुनका रेशा होइन
काला तार उम्रेका छन्
मैले सेता, राता बुट्टेदार गुलाफहरू देखेको छु
तर त्यस्ता कुनैपनि गुलाफ
आजसम्म उनको गालामा फुलेका छैनन्
कतिपय अत्तरमा
कस्तो मनमोहने सुगन्ध हुन्छ
तर उनको स्वास त ठुस्स गन्हाउँछ
मलाई उनको बोली मनपर्छ
तर मलाई राम्रोसँग थाहा छ
संगीत त यो भन्दा कहाँ हो कहाँ कर्णप्रिय हुन्छ
मैले कहिल्यै कुनै देवीदेउतालाई
बाटोमा हिँडेको देखेको छैन
मेरी प्रेयसी त भूइँमा टेकेर
ठमठम हिँड्छिन्
तर पनि भगवान कसम
मलाई मेरी प्रेयसी अलौकिक लाग्छिन्
झुठा विम्बहरूले फुर्क्याइएका
उनी जस्ता अरू कोही भन्दा ।
सेक्सपियरद्वारा रचित "My Mistress' Eyes are Nothing..." सोनेटको भावानुवाद
- अनुवाद: विभोर
Segments
Language
- 81 views