(रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि आवाज नजिक–नजिक सुनिन्छ । रङ्गमञ्च अझै आलोकशून्य छ । रोदन बिस्तारै हराउँछ । अब मञ्चमा एकजना नारी मुक्तिको धुमिल आकृति देखा पर्छ ।)
मुक्ति ः
महाशय !
के तिमी,
मेरो आवाज सुनिरहेका छौ ?
के तिमी,
मेरो रुवाइ महसुस गरिरहेका छौ ?
के तिमी,
मेरो अत्यासलाग्दो वर्तमानलाई
यो आलोकशून्य रङ्गमञ्चमा देखिरहेका छौ ?
भन महाशय !